भ्रूण नै हुँदा गर्भ मै मेटिएको मेरो अस्तित्व अझै
समाजको असमानताबिच न्याय माग्दा पनि उक्सिन
नसकेको म त्यही खाडलमा पुरिरहेको छु,
यसरी आफ्नै पहिचान हराइरहँदा खै कसरी मनाउन
सक्छु र म नारी दिवस ?
कसैको केही नबिगारिदिँदा नारी भएकै कारण
नारी हुनुको हीनताबोध, पीडा बोध हुँदा
कसैको फूल–मुस्कान कसैको भोग–
असिनाले खोसिदिँदा,
समय र नारी उस्तै बुझेर
उनका मनसँग अनेक सपना साटी,
खुसी साट्दै समाजमा
खै कसरी मनाउन सक्छु र म नारी दिवस ?
जिन्दगी लाई मोलमोलाइमा बेच्नेहरू माझ
न्यायका लागी लड्दा लड्दै
अझै जीवनमा कुनै खुसीको रङ्गहरूले
पोतिन नपाउँदै जीवनको आधा उमेर
बितिसक्दा, मनमा पीडा र चोट लिएर,
सदाबहार ओठमा मुस्कान लिएर खै
कसरी मनाउन सक्छु र म नारी दिवस ?
दाइजो को नाम मा हजारौँ यातना सहेर
आफ्नै जीवनसाथीले दिएको पीडा सहन
नसकी, मृत्युलाई रोज्न तयार हुँदा,
जीवन यात्रामा एकल यात्री भने
गल्ती गर्नेलाई महसुस गर्नै नपाइ
खै कसरी मनाउन सक्छु र म नारी दिवस ?
काफ्लेका रचनाहरू यस पोर्टलमा सङ्ग्रहित छन्

















