ईटहरी।आइतबार पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयमा हस्ताक्षर गर्दै जेन(जी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेकी छन्। सो निर्णयअनुसार मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने व्यवस्था गरिएको छ।
तर मृतकका परिवारले मात्र यो राहत पर्याप्त नभएको भन्दै अतिरिक्त माग अघि सारेका छन्। उनीहरूले अन्त्येष्टिमा राष्ट्रिय सम्मानका साथ बिदाइ गर्नुपर्ने माग राखेका थिए।
सोही माग राख्न पीडित परिवारका सदस्यहरू प्रधानमन्त्री सुशीला कार्कीको टोलीका विभिन्न नेतासँग भेटघाट गर्न पुगे पनि सुनुवाइ नभएपछि उनीहरू सीधै बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगे।
साँझ करिब ७ बजे मृतकका सात परिवारका सदस्यहरूलाई प्रधानमन्त्री निवासभित्र बोलाइएको थियो। तर प्रधानमन्त्री कार्की मन्त्री नियुक्ति सम्बन्धी छलफलमा व्यस्त रहेको भन्दै उनीहरूलाई भेटाइएन।
परिवारका सदस्यहरूलाई लबीमा लामो समय कुराइए पनि अन्ततः राति १० बजेपछि ‘प्रधानमन्त्री व्यस्त हुनुहुन्छ’ भन्दै भेट नगरी बाहिर निकालिएको पीडित परिवारले गुनासो गरेका छन्। उनीहरूले यसलाई अपमानजनक व्यवहार भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन्।


















