ईटहरी। सोमबार तीन जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ लिनेहरूमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल रहेका छन् । खनाललाई अर्थ मन्त्रालय, घिसिङलाई ऊर्जा, भौतिक योजना तथा शहरी विकास मन्त्रालय र अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति कार्यालयको खण्डहर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा, प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राखेर उनीहरूले शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीको शपथमा नदेखिएका एक संवैधानिक पदाधिकारी मन्त्रीहरूको शपथ कार्यक्रममा भने सहभागी भए । ती हुन्– राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा सक्रिय रहेकाले उनको पद यथावत छ, त्यसैले उनी कार्यक्रममा पुगेका हुन् ।
तर सभामुख देवराज घिमिरे भने जेनजी आन्दोलनपछिका दुई ठूला सार्वजनिक कार्यक्रममा अनुपस्थित देखिए । दुई दिनअघि भएको प्रधानमन्त्रीको शपथ ग्रहणमा पनि देखिएनन् र सोमबारको मन्त्रीहरूको शपथमा समेत गएनन् । उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् ।


















