ईटहरी। राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच अहिले शीतल निवासमा अन्तरिम प्रधानमन्त्री नियुक्तिबारे गहन छलफल चलिरहेको स्रोतले जनाएको छ।
अनौपचारिक सहमति कार्कीको नाममा भइसकेको भए पनि संविधानले प्रधानमन्त्री हुन संसद सदस्य हुनुपर्ने प्रावधान भएकाले वैकल्पिक बाटो खोज्ने विषयमा संवैधानिक विज्ञहरूसँग पनि परामर्श भइरहेको छ।
यसैक्रममा संसद् विघटन गर्ने कि नगर्ने भन्ने प्रश्नमा पनि राष्ट्रपति सक्रिय रूपमा राय लिइरहेका छन्।
यसअघि पौडेलले कांग्रेसका शीर्ष नेताहरूसँग कुराकानी गरेका थिए भने माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग पनि भेटघाट भइसकेको छ। कांग्रेस र माओवादी दुवै कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन सकरात्मक देखिएका छन्।
भ्रष्टाचारविरोधी आन्दोलन चर्किँदै जाँदा ‘नेपोनेभिज’ अभियान चलाइरहेका जेनजी युवाले कार्कीको नाम अघि सारेका थिए। कार्की स्वयंले पनि जिम्मेवारी लिन तयार रहेको संकेत दिएकी छन।
यता, आन्दोलनको क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको भिडन्तमा अहिले सम्म ३४ जनाको ज्यान गइसकेको छ भने सयौं घाइते छन्। संसद् भवनदेखि सिंहदरबार र सर्वोच्च अदालतसम्म आगजनी भएपछि नेपाली सेनाले समेत जेनजीसँग वार्ता थालेको थियो।
सेनाको मध्यस्थतामा प्रारम्भिक सहमति जुटेपछि राष्ट्रपति पौडेलले राजनीतिक र कानुनी बाटो टुंग्याउन उच्च तहमा निरन्तर छलफल अगाडि बढाइरहेका छन्।

















