इटहरी । रोजगारी र आत्मनिर्भरता अभिवृद्धिका लागि सञ्चालन हुने सीपमूलक तालिमप्रति युवाहरुको बढ्दो चासोका कारण इटहरी स्थित व्यवसायिक प्रशिक्षण केन्द्रले यस वर्ष अतिरिक्त समूह थप गरेर तालिम सञ्चालन गर्ने भएको छ ।
केन्द्रका अनुसार साउन २१ गते ६ विषयका ६ समूहमा तालिम संचालन गर्ने योजनाका साथ आवेदन खुलाइएकोमा आवेदनकर्ताको भीड बढेपछि कम्प्युटर अपरेटर, मेशिनरी र इलेक्ट्रिसिटी बेसिक गरी थप १ १ समूह थप्ने निर्णय गर्दै प्रशिक्षण केन्द्रले एक सुचना जारी गरेको हो। हरेक समूहमा २० जना सहभागी हुने व्यवस्था मिलाइएकाले यसपटक अझ धेरै युवाले अवसर पाउने केन्द्रले जनाएको छ।

कार्यकारी निर्देशक पुष्पराज कट्वालले युवाहरूको उत्साहपूर्ण सहभागिताले केन्द्रलाई थप समूह सञ्चालन गर्न प्रेरित गरेको जानकारी दिए । उनका अनुसार सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउन मात्र होइन, रोजगारीका नयाँ अवसर सिर्जना गर्न पनि ठूलो भूमिका खेल्दै आएको छ ।
युवाहरूलाई रोजगारीयोग्य बनाउन निरन्तर क्रियाशील इटहरी व्यवसायिक प्रशिक्षण केन्द्रले हरेक वर्ष विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । यस वर्षको तालिममा सहभागिता जनाउने युवाहरूले कुक, कम्प्युटर अपरेटर, मन्टेश्वरी, इलेक्ट्रिसियन वेसिक, व्यूटिसियन वेसिक र सिलाई कटिङ वेसिक सम्बन्धी आधारभूत सीप सिक्ने अवसर पाउने छन् ।


















