जिवन राई – उदयपुर । लगातारको वर्षाका कारण उदयपुरदेखि भोजपुर सिमानासम्मको सडक अवरुद्ध भएपछि यातायातका साधन पूर्ण रूपमा ठप्प भएका छन् । सडक अबरुद्ध भएपछि यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने दैनिक उपभोग्य सामानको आपूर्ति समेत प्रभावित बनेको छ।
स्थानियका अनुसार यातायात ठप्प हुँदा सामान ओसारपसार गर्न समस्या भएको छ । समयमा उपभोग्य सामग्री ढुवानी गर्न नसक्दा उपभोक्ता मारमा परेको गुनासो बढ्न थालेको छ ।



सडक निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भइसके पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समस्या थपिएको सरोकारवालाहरूले बताएका छन् । बेलका नगरपालिका–७ का वडाध्यक्ष निकेश राईका अनुसार ठेकेदार बारम्बार परिवर्तन हुँदा निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेको हो ।
राईले सडक डिभिजनले जिम्मेवार निर्माण व्यवसायीलाई ठेक्का दिन नसक्दा वर्षेनी स्थानीयले दुःख व्यहोर्नु परेको आरोप लगाए। स्थानीयवासीले भने शीघ्र सडक खुलाउने कार्यलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरेका छन्।


















