विराटनगर । प्रदेश सभाका विषयगत समितिहरूलाई अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरु भएको छ । कोशी प्रदेश सभा सचिवालयले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईको सहकार्यमा सदनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरूलाई अभिमुखीकरण गराएको हो ।
संसदीय प्रणालीमा सभाका समितिहरूले राज्यले प्रस्तुत गर्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने अभिमुखीकरणका सहजकर्ता समेत रहेका संविधानविद् डा.विपिन अधिकारीले बताएका छन् । वित्तीय अनुशासनका साथै कानुनका क्षेत्रमा सहजिकरण गरेका अधिकारीले सङ्घीयताको कार्यान्वयनका लागि वित्तीय विकास पनि महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन ।
‘कर्णालीको बजेट भक्तपुर नगरपालिका भन्दा कम रहेको छ । हामी संघीयताई दिगो बनाउँदै लैजानलाई प्रदेशका क्षेत्राधिकार र राजस्वका श्रोतहरू खोजेर अगाडि बढेर दिगो बनाउनुको विकल्प छैन, उनले भने, आम्दानी नगर्ने तर खर्च मात्रै गर्ने प्रणालीले हामी कहाँसम्म पुग्छौँ भन्ने कुरा बुझ्न जरुरी छ ।’
अभिमुखीकरणमा विषयगत समितिका काम कर्तव्य तथा अधिकारका बारेमा व्यवस्थापिका संसद्का महासचिव भरतराज गौतमले जानकारी गराएका थिए । अभिमुखीकरणका कार्यक्रम २ दिनसम्म चल्ने कोशी प्रदेश सभाका प्रवत्ता गौतमराज अमात्यले जानकारी दिए ।

















