इटहरी । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो ।
खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोपमा किसानको साझेदारी फरक किसिमको छ ।
झापामा हालसम्म यो रोगबाट २० हजार चार सय २७ पशु सङ्क्रमित भएका छन् भने सात सय ८५ वटा मरेको भट्टराईले जानकारी दिए। जिल्लामा सबैभन्दा पहिला दमक नगरपालिकाले आफैँले खोप खरिद गरेर नगर क्षेत्रका किसानको गोठमै पुगेर पाँच हजार खोप लगाएको छ ।