इटहरी । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, बुधबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

















