इटहरी । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारवाही गर्न वैदिक सनातन धार्मिक समुहले माग गरेको छ । उसले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार प्रशासन कार्यालय पुगेको धार्मिक समुहले धरान–२ मा रहेको प्राचीन सिंहदेवी मन्दिर नजिकै धार्मिक सहिष्णुता खलल पुग्ने गरी चर्च बनाएको भन्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । मेयर हर्क साम्पाङकै पहलमा चर्च निर्माण भएको उनीहरुको आरोप छ ।
भवन निर्माण सम्बन्धि पूर्व स्वीकृती लिने, नक्सा पास गर्ने आदि प्रावधानहरुको पालना नगरेको, र भवन बनाउँदा पनि गोदाम, पार्टीप्यालेस र होटल बनाउने भनेर चर्च बनाएकोमा समेत असन्तुष्टी जनाइएको छ ।
यस्तै धरानका नगर प्रमुख स्वयंले नै चर्चको संरक्षण गर्दै र हिन्दु बिरोधी फेसबुक स्टाटसहरु पोस्ट गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने कार्य गरेको उनीहरुको आरोप छ ।
चर्चलाई स्थानान्तरण गर्नुपर्ने, मेयरले तत्काल माफि माग्नुपर्ने र सरकारले पनि मेयरलाई कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
नगरप्रमुख जस्तो जिम्मेवार व्यक्तिले आफ्नो क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नको साटो जातीय तथा धार्मिक सद्भाव भडकाउने जस्ता अनर्गल अभिव्यक्तिहरु दिईरहेकोले प्रचलित कानून बमोजिम कारवाहीका लागि जोडदार माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

















