इटहरी । मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाने क्रममा बुधबार मोरङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–२ टंकी चोकबाट प्रहरीले मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–८ का २१ वर्षीय सुमन विक रहेका छन् ।
मोरङ प्रहरीका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ८६ प ६०८ नम्बरको २ सय सीसीको एनएस मोटरसाइकल शंका लागेपछि चेकजाँचका लागि प्रहरीले रोकेको थियो ।धरानबाट चोरी गरेको मोटरसाइकल भारत लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो ।
धरान–७ का सुजन राईले घरमै पार्किङ गरेर राखेको मोटरसाइकल बुधबार चोरी भएको थियो । पक्राउ परेका विकको साथबाट प्रहरीले आई फोन सेभेन मोबाइल पनि बरामद गरेको छ ।
उक्त मोबाइल मोटरसाइकल धनी राईकै रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

















