कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले होस्ट गर्दै आएको ‘ह्वाट द फ्लप’ शो बन्द गरेको छ ।
बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाहसँग जेल अनुभवबारे शो गरेपछि सो कार्यक्रम विवादमा तानिएको थियो । शाहसँगको शो युट्युब च्यानलबाट हटाइएको एक सातापछि कान्तिपुर टेलिभिजनले यो कार्यक्रमको उत्पादन र प्रसारण नै रोकेको हो ।
शाह नाबालिग बलात्कार प्रकरणमा मुछिएका र पीडितले बयान फेरेका कारण सफाइ पाएका कलाकार हुन् । बलात्कारजस्तो गम्भीर अपराधका आरोपितलाई शोमा ल्याएर पीडितलाई थप पीडा पुग्नेगरी उनको थुना यात्रालाई हाँस्य विषय बनाएपछि क्षेत्रीको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा शो बन्द गर्न दबाब आएपछि कान्तिपुर टीभीले बन्द गर्ने निर्णय लिएको हो ।

















