फिल्मको सफलताका लागि लामो समय भौतारिएकी अभिनेत्री हुन्, मिरुना मगर । केही नाटकमा काम गरेको अनुभवपछि फिल्म ‘लालपूर्जा’बाट डेब्यू गरेकी उनलाई चौंथो फिल्म (रोज, साइनो र चच हुई)सम्म आइपुग्दा असफलताले छाडेको थिएन । ‘पखाईको फल मीठो हुन्छ’ भनेझैं मिरुनाका लागि पाँचौं फिल्म ‘कबड्डी ४’ सञ्जीवनी बुटी बन्यो । यसपछि त करिअर फर्केर हेर्नुपरेको छैन ।
‘कबड्डी ४’ले उनलाई सफलताको ढोका नै खोलिदियो । यस वर्षका लागि उनको पहिलो फिल्म ‘जारी’ पनि घरेलू बक्स अफिसमा ब्लकबस्टर भयो । फिल्मको सफलता मात्र होइन, उनको अभिनयको पनि प्रशंसा भैरहेको छ । यी दुईवटा फिल्मको सफलताले उनीमाथि अघिल्ला चार फिल्मले लगाएको ‘अनलक्की हिरोइन’को ट्याग पनि पखालेको छ । यतिबेला उनी ‘हाई डिमान्ड’मा छिन् ।
यस वर्ष उनको सेड्युल निकै कसिलो देखिएको छ । उनले अघिल्लो महिना फिल्म ‘नाङ्गो गाउँ’को छायांकन पूरा गरिन् । आगामी भदौबाट फिल्म ‘ऊनको स्विटर’को छायांकनमा व्यस्त हुँदैछिन् । दशैंपश्चात् उनले फिल्म ‘एन्जिला’को छायांकनका लागि समय दिनेछिन् । यसमा उनको केमियो भूमिका रहने जनाइएको छ । उनले दशैंअघि अर्को एउटा फिल्म पनि साइन गर्ने सम्भावना छ ।
रोचक कुरा चाहिँ के छ भने अभिनेता दयाहाङ राईकै फिल्म उनको पोल्टामा पर्दै आइरहेको छ । ‘कबड्डी ४’ र ‘जारी’पछि ‘नाङ्गो गाउँ’मा उनीहरुको जोडी बाँधिएको छ । ‘एन्जिला’मा पनि दयाहाङ छन् । यसरी हेर्दा यो ‘लक्की’ जोडीलाई फिल्ममा लिने होड देखिन्छ । ‘जारी’ हेरेपछि एक पत्रकारले भनेका थिए, ‘दया–मिरुनाको जोडी शाहरुख खान र काजोलको जस्तै हिट हुने देखिन्छ ।’