इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ माघ २४ गते अर्थतन्त्रलाई सन्तुलन कायम राख्न भन्दै मातहतका कार्यालयलाई आठ बुँदे निर्देशन जारी गरेको छ ।
उक्त निर्देशनमा तालिम, गोष्ठी, सेमिनार, कार्यशाला र विविध खर्चमा २५ प्रतिशत कटौती गर्ने, थप फर्निचर तथा नयाँ सवारी साधन खरिद नगर्ने, नयाँ दरबन्दी सिर्जना नगर्ने, अनुदान नबाँडिने लगायतका विषय उल्लेख थियो ।
तर, चालू आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारको उक्त निर्देशन पालना भएको देखिएन । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशी प्रदेशको तथ्यांक अनुसार सरकारले भत्ता मात्रै झण्डै २० करोड अर्थात् १९ करोड ९३ लाख ४० हजार ५९५ रुपैयाँ खर्च गरेको छ ।
जसमा कर्मचारीको बैठक भत्ताको नाममा १ करोड ३८ लाख ३७ हजार ८०९ रुपैयाँ, अन्य भत्ताको नाममा ५ करोड ७४ लाख ९९ हजार ९०९ रुपैयाँ, पदाधिकारी बैठक भत्तामा २८ लाख ७२ हजार, पदाधिकारीको अन्य भत्तामा ४१ लाख ४ हजार, पदाधिकारीको अन्य सुविधामा २ करोड १६ लाख ७० हजार ३४१ रुपैयाँ रहेको छ ।
यस्तै प्रदेश सरकारले कर्मचारीको तालिममा मात्रै ३ करोड ९९ लाख ७६ हजार ९२८ रुपैयाँ सकेको छ । यस्तै तालिम तथा गोष्ठी खर्चमा १७ करोड ७५ लाख ८७ हजार ३०८ रुपैयाँ, कार्यक्रम खर्चवापत १ अर्ब ८८ करोड १२ लाख २८ हजार ५८० रुपैयाँ, विविध कार्यक्रम खर्च वापत ५ करोड २० लाख ७० हजार ६३२ रुपैयाँ, भ्रमण खर्चमा ३ करोड ४२ लाख ११ हजार १७७ रुपैयाँ र विविध खर्च शीर्षकमा ९ करोड ८० लाख ५४ हजार ४६ रुपैयाँ सकिएको छ । यसरी हेर्दा विभिन्न कार्यक्रम, गोष्ठी र परामर्शमा मात्रै प्रदेश सरकारले २ अर्ब ४० करोड ९८ लाख ५५ हजार ४०६ रुपैयाँ सकेको हो ।
प्रदेश सरकारले गरेको उक्त खर्च विवरण आफैंले गरेको निर्देशन विपरीत रहेको छ । निर्देशनमा प्रदेश सरकारका सबै मन्त्रालय, निकायको विनियोजित बजेटभित्रका मसलन्द तथा कार्यालय सामान, पत्रपत्रिका, इन्धन, मर्मत सम्भार, छपाई तथा सूचना प्रकाशन, सेवा परामर्श, सूचना प्रणाली तथा सफ्टवेर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, प्रदेश सरकार स्रोततर्फका सबै प्रकारका कर्मचारी तालिम, गोष्ठि, सेमिनार, कार्यशाला र विविध खर्चमा खर्च भएर बाँकी रहेको मध्ये २५ प्रतिशत कटौती गर्ने उल्लेख थियो । सरकारी निकायले मसलन्द खर्चमा पनि निर्देशनको पालना गरेका छैनन् । मसलन्द तथा कार्यालय सामग्रीमा पनि प्रदेश सरकारले १३ करोड ८५ लाख ४८ हजार ८६८ रुपैयाँ खर्च गरेको छ ।
यस्तै पुस्तक तथा सामाग्री खर्चमा १ करोड ७१ लाख १६ हजार ५६० रुपैयाँ, इन्धन खर्चमा १५ करोड ९५ लाख ७७ हजार २९ रुपैयाँ, सवारी साधन मर्मत खर्चमा ११ करोड ८४ लाख २२ हजार १४२ रुपैयाँ खर्च गरेको छ । यस्तै उत्पादन सामग्री सेवा खर्चको नाममा प्रदेश सरकारले १ करोड ५३ लाख ४६ हजार १३० रुपैयाँ, अनुगमन मूल्यांकनको नाममा १० करोड ५४ लाख ७७ हजार ४२८ रुपैयाँ खर्च गरेको छ ।
उपभोक्ता समिति तथा गैरसरकारी संस्थालाई सहायताको नाममा ४९ लाख ९४ हजार ७९४ रुपैयाँ पनि बाँडिएको छ । अन्य सामाजिक सहायताको नाममा प्रदेश सरकारले १४ करोड ७९ लाख ७८ हजार ६६० रुपैयाँ बाँडेको छ । प्रदेश सरकारले जग्गाको भाडामात्रै ८ लाख ७६ हजार २०८ रुपैयाँ र घरभाडामा मात्रै ६ करोड ३६ लाख २१ हजार ३८ रुपैयाँ खर्च गरेको छ ।
यस्तै सवारी साधन तथा मेसिनरी, औजार भाडा, अन्य भाडावापत प्रदेश सरकारले १९ लाख ७९ हजार ९९५ रुपैयाँ, आवासीय भवन निर्माण तथा खरिदमा २ करोड ४१ लाख ४ हजार २०३ रुपैयाँ खर्च गरेको छ । यस्तै निर्मित भवनको संरचनात्मक सुधारको लागि भन्दै प्रदेश सरकारले १ करोड ७० लाख २६ हजार ३८८ रुपैयाँ खर्च गरेको छ ।
खर्च कटौतीमा सवारी साधन खरिद नगर्न पनि निर्देशन दिइएको थियो । तर, उक्त निर्देशन विपरीत प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५ करोड ६७ लाख ६२ हजार ७१४ रुपैयाँको सवारी साधन खरिद गरेको छ । यस्तै फर्निचर तथा फिक्चर्समा पनि प्रदेश सरकारले ५ करोड ८९ लाख २५ हजार ९२२ रुपैयाँ खर्च गरेको छ । जबकी फर्निचर खरिदमा पनि प्रदेश सरकारले कडाइ गरेको थियो ।

















