इटहरी । सहकारीको रकम हिनामिना गर्ने ३ जना पुर्पक्षको लागि जेल चलान गरिएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थामा कार्यरत तीन जना जेल चलान भएका हुन् । वि.स. २०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत रहेका ४४ बर्षीय राजेन्द्र तामाङ र संस्थामा लेखा सहायक पदमा कार्यरत ४६ वर्षीय विश्वनाथ चौधरी र सहकारीका अध्यक्ष ४५ वर्षीय लाल बहादुर भण्डारीले बचत कर्ताको बचत हिनामिना गरेको आरोप लागेपछि उनिहरुलाई प्रहरिले पक्राउ गरेको हो ।
बचतकर्ता तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको कसुरमा पक्राउ परेका ३ जनालाई मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उल्लेखित प्रतिवादीहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान पश्चात् मुद्दा चलाएको थियो ।

















