इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालू आर्थिक वर्षको ९ महिनामा १२ हजार १ सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा उक्त संख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
कार्यालयले सोही अवधिमा ११ हजार ३ सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालू आ.व.को पहिलो ९ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कूल २३ हजार ५ सय १६ थान नागरिकता वितरण भएको प्र.जि.अ पाण्डेले बताइन् ।
यो अवधिमा ३ सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने २ सय ४४ मुद्दा फछ्र्योट भएको उनले बताइन् । प्रशासनले जारी गरेको प्रगति विवरणानुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो ९ महिनाको अवधिमा ११ हजार ३ सय ९ वटा राहदानी वितरण गरेको छ ।
त्यसैगरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ ।
सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार ७ सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवम् विपन्न परिवारका ५ सय ३५ जनालाई कम्बल वितरण गरेको उनको भनाइ छ ।
सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

















