ईटहरी । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन सुरु भएको छ । शुक्रबारबाट पक्राउ परेका १६ जनाको बयान लिन सुरु हुने भएको हो ।
उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राइर्, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झण्डै २९ करोड रूपियाँ उठाइएको आरोप छ ।
यस प्रकरणमा १६ जना पक्राउ गरिएको छ । १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

















