ईटहरी । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेकोले प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्वाही गर्नु पर्ने माग गरेको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो । सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ ।
समाजका मोरङका अध्यक्ष प्राडा जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्ने गरी सो ज्ञापनपत्र बुझाइएका हुन् ।
शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको अवस्थामा जनगुनासो बढी रहेको सन्दर्भमा शान्ति समाजले प्रशासनलाई सो ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउनु अघि शान्ति समाजले जिल्ला प्रशासन कार्यालय अगाडि कुशासन र दण्डहिनताविरुद्ध धर्नासमेत दिएको थियो । सो धर्नामा माध्यमिक विद्यालय तथा शिक्षालय संघ ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, रोटरियन सुदीप रिजाल, व्याब्सनका अशोक लामा, अधिवक्ता धना थापा, युवा नेता रुपेश खतिवडा, साहित्यकार रामबाबु दाहाललगायत सहभागी थिए ।
सो ज्ञापनपत्रमा भनिएको छ ‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेरिहस्तहरुको सुक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेताहरुसहित जो कोही हुन् कानुनसम्मत कारवाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति , आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैक्री ऐन बनाई संत्रमणकालिन न्याय पक्रियालाई टुंगोमा पुर्याखउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौं ।’
मानव अधिकार तथा शान्ति समाज मोरङले कुशासनको अन्त्यको लागि गत बैशाख ३१ गतेदेखि दैनिक विभिन्न प्रकारका दबाबमूलक कार्यक्रममा सहभागी हुने एवम् आफै पनि गर्दै आएको अध्यक्ष प्राडा ढकालले बताए ।

















