इटहरी । उद्योग वाणिज्य संघ इटहरीले बैंकको ब्याजदर विरुद्द संघर्ष समिति गठन गरेको छ । बैंकको चर्को ब्याजदर विरुद्द चरणबद्द कार्यक्रम गर्ने तयारीस्वरुप संघर्ष समिति गठन गरिएको हो ।
अल्पकालीन र दीर्घकालीन योजनासहित संघर्षका कार्यक्रम गर्नेगरी संघका सदस्य ध्रुव अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
नवगठित समितिका संयोजक अधिकारीले बैँकको ब्याजदरविरुद्द चरणबद्द आन्दोलन गर्ने बताए । समितिका अन्य सदस्यहरू विभिन्न बस्तुगत संघसँगको छलफलपछि दुई दिन भित्रमा थप गरी पूर्णता दिइने उनले बताए ।
यस्तै बैंर्कस संघ, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, उपमहानगरपालिकासहित अन्य सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्रसहित डेलिगेसनका लागि जाने उनको भनाइ छ ।
बैक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका सम्बन्धमा वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले बैँकले दिएको दुःखबारे धारणा राखेका थिए ।