इटहरी । सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ ।
बैशाख ६ गते बराहक्षेत्र मन्दिर नजिकै रहेको कोकाहा खोला नजिकै सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको हो । योसँगै सप्तकोसीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा दमक नगरपालिका ९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन् ।सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक देवेन्द्र रोक्काका अनुसार नवीनको भने बैशाख ६ गते नै घटनास्थल नजिकै करिब ४ घण्टापछि शव फेला परेको थियो ।
बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले शनिबार फेला पारेको हो ।इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार रूद्रको शव घटनास्थल नजिकै फेला परेको थियो।
त्यस्तै, राजुको शव भने बराहक्षेत्र नगरपालिकाको २ नम्बर वडा स्थित आठ आरडीको ठूलो कोसीमा फेला परेको उनले बताए ।दुवैको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

















