इटहरी । फिल्म ‘छक्का पञ्जा ४’ले पाचँ सातामा २१ करोडको व्यापार गरेको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले बताए ।
छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेका छन् । ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ । पाँच सातामा फिल्मले २१ करोड कमाइ गरिसकेको छ । शुक्रवार र शनिवारको कलेक्सन भने आउन बाँकी रहेको राठीले बताए ।
राम्रो व्यापार गरेतापनि यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन । यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ले २४ करोड कमाएको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने चलचित्रको सुचिमा रहेको छ ।
हेमराज बिसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक–दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।