सुनका गरगहना सफा गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुङ्गामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनका पुराना गरगहना सस्तो मूल्यमा सफा गरिदिने भन्दै विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग गरेर गरगहनाको परिमाणमा कम गरी ठगी गर्ने तीन जनालाई प्रहरीले जिल्लाको मोलुङ गाउँपालिका–२ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल सोही ठाउँका ४३ वर्षीय पारसकुमार दास र मोरङको विराटनगर महानगरपालिका–११ का ४४ वर्षीय राजेश शाह, रहेको प्रहरी निरीक्षक विकास राईले जानकारी दिएका छन ।प्रहरी निरीक्षक राईका अनुसार पक्राउ परेकाबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरिएको छ । जिल्लामा यस्तो गिरोह नै प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमल बानियाँले गाउँमा यस्तो गिरोह प्रवेश गरेकाले सचेत रहन सार्वजनिक सूचना जारी गरेर अपिल गरेका छन ।


















