धरान । धरानमा आजबाट धरान एक्स्पो सुरु हुँदै छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ हुने भएको हो ।
एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले बताए । कृषि औजार, कपडा, छालाका सामाग्री, घरेलु उपभोग्य सामग्री, मेसिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, कला साहित्यका सामाग्री र भवन निर्माणका स्टल एक्स्पोमा राखिने छन् ।
एक्स्पोमा पाकिस्तान, बंगलादेश, चीन र भारतका उत्पादनहरूका स्टलहरू पनि बनाइएको छ । पाकिस्तानमा छालाबाट बनेका ज्याकेट, बेल्ट, क्यापदेखि बंगलादेशको गार्मेन्ट तथा कपडा राखिने संयोजक श्रेष्ठले बताए । स्टल संयोजक विष्णु बरालकाअनुसार दैनिक भान्सा तथा घरायसी उपभोगका लागि आवश्यक उपकरणहरू पनि राखिने छन् ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले १० दिनसम्म सञ्चालन हुने एक्स्पोले धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । एक्सपोमा ११३ व्यापारिक स्टलहरू रहनेछन् ।