इटहरी । मापदण्ड बिपरितका क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न देशभरका सम्बन्धित प्रशासन कार्यालयहरूलाई गृहले निर्देशन दिएपछि कोशी अञ्चलमा रहेका क्रसर व्यवसायीहरू आन्दोलित बनेका छन् ।
बिहीबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोशी क्रसर व्यवसायी संघले अनिश्चितकालको लागि उद्योग बन्द गरिएको जानकारी गराएको हो ।
दर्ताबिना सञ्चालन भएका र सरकारले तोकेको मापदण्ड पुरा नगरेका क्रसरहरू तत्काल बन्द गर्न आफूहरु सहमत भएपनि सरकारकै निर्देशन अनुसार सञ्चालन भएका क्रसरहरूलाई पनि बन्द गर्न परिपत्र आएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको कोशी क्रशर व्यवसायी संघका अध्यक्ष भिम पौडेलले बताए ।
सरकारलाई कर तिरेर मापदण्ड अनुसार सञ्चालन भएका क्रसरहरूलाई बन्द गर्न भनी प्रसाशनले पत्र जारी गरेपछि आन्दोलन गर्नुपरेको उनको भनाइ छ । आगामी माघ २ गते क्रसर व्यवसायीहरु मन्त्रालय डेलिगेसन जाने र सरकारसमक्ष ज्ञापन पत्र बुझाउने अध्यक्ष पौडेलले बताएका छन् ।
क्रसर उद्योग बन्द भएमा व्यवसायीको अर्बाै लगानी डुब्नुका साथै २० हजारभन्दा बढी मजदुरको रोजगारी खोसिने उनको तर्क छ । गृह मन्त्रालयको निर्देशन बमोजिम सुनसरी र मोरङमा सरोकारवालाहरूले क्रसर उद्योगहरूको अनुगमन गरी अवैध क्रसरहरूलाई बन्द गर्न प्रसाशनले परिपत्र गरेको थियो ।

















