रामधुनी । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाएको छ । २४ औं वार्षिक साधारणसभा तथा २५ औं स्थापना दिवस एक कार्यक्रम गर्दै मनाएको हो ।
सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको र १० हजार बढी सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले अन्तीम वार्षिक साधारणसभा गरेको हो । संस्थाले एक साताअघिदेखि विभिन्न ठाउँमा विभिन्न क्षेत्रका बचतकर्ताहरुको समुह बनाइ साधारणसभा गर्दै आएको थियो । सो क्रममा सुनसरी र सुन्दरहरैंचाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा उनले सहकारीहरुको श्रेणीकरणको प्रक्रिया सुरु गरेको बताए । उनले एक वर्षभित्रै सहकारीहरुको अवस्था र स्तर छुट्याउने गरी क, ख, ग, घ गरी चार श्रेणीमा छुट्याइने जानकारी दिए । उनले सहकारीको विकास र व्यवस्थापनलाई अझ चुस्त दुरुस्त बनाउनका लागि विभिन्न काम भइरहेको जानकारी दिए ।
यस्तै बैंकहरुभन्दा सहकारीहरुको महत्व समाज र व्यक्ति विकासका लागि धेरै हुने बताउँदै उनले सहकारीसम्बन्धि नयाँ व्यवस्था र नीति नियमहरुबारे जानकारी गराएका थिए भने सहकारीकर्मीहरुको क्षमता विकासमा आफूहरुले विशेष जोड दिएको बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा सहकारीकी अध्यक्ष अमृता सुब्बाले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थापक अध्यक्षसमेत रहेकी उनले सहकारी स्थापनाको संघर्ष र हालको अवस्थाबारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेती, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेल, राष्ट्रिय सहकारी महासंघ सञ्चालक शिव डाँगी, लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मी उप्रेती, सञ्चालक सदस्य महेन्द्र सुवेदी, विश्वनाथ मण्डल, नेफ्सकुनका सञ्चालक सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सहकारी सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारीले २४ वर्ष पुरा गरेको अवसरमा बधाइ र शुभकामना दिएका थिए । स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । पत्रकार हिमाल दाहाल, इटहरीकी उपमेयर संगीता चौधरी, पिएचडी गर्ने सेयर सदस्य गिता अधिकारी , एमविए गर्ने सेयर सदस्य विमला भुर्तेल, पिएचडी गर्ने सेयर सदस्यका सन्तती प्रशान्त कार्की, कर्मचारी सन्तोष कार्की, पुर्व उपाध्यक्ष अनिता गुरागाईँलगायत सहकारीका उत्कृष्ठ बचतकर्ता, ऋणी, सन्ततीलगायतलाई सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रमका अवसरमा रजत जयन्ती स्मारिकासमेत सार्वजनिक गरिएको थियो । स्मारिकाको सम्पादन पत्रकार दाहालले गरेका थिए भने सहसम्पादकमा जुनुसा पुरी र सन्तोष कार्की छन् ।
२०५५ सालमा ७५ जना शेयर सदस्यहरु भएर सुरु गरेको सहकारीको शेयर पुँजी झण्डै ८ करोड रुपैया पुगेको छ । एसियाली ऋण महासंघबाट ब्रोन्ज तहको एक्सेस ब्राण्ड पाउने यो प्रदेश १ को एकमात्र महिला सहकारी हो भने देशकै उत्कृष्ठ महिला सहकारीहरुमध्ये यो सहकारी पर्न सफल छ ।

















