विराटनगर । लोकतान्त्रिक बाम गठबन्धनले प्रदेश १ को राजधानी विराटनगरमा संयुक्त भेलाको आयोजना गरेको छ । शनिबार एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचन पछि पनि गठबन्धन कायम रहने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनका विरुद्धमा गठबन्धन आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको गठबन्धन राजावादी अधिनायकवादीसँगको रहेकोले अग्रगामी सक्तिहरुकोे विजय आवश्यक रहेको बताएका छन् । नेता नेपालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेताहरूलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका वेला एकजुट भएका शक्तिहरू अहिले एक ठाउँमा उभिएकाले देशको विकासको जिम्मेवारी पनि गठबन्धनकै दलसँग रहेको बताएका छन् । ‘यो शान्ति सम्झौताका बेला भएको गठबन्धनको निरन्तरता पनि हो ।’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनका दल भित्र टिकट नपाएर कुनै पनि असन्तुष्टि भएमा चुनावपछि अन्य अवसरमा समेट्ने बताए । स्थानीय चुनावमा पनि गठबन्धन सफल रहेको भन्दै देउवाले अव दलहरूका बिच सहमति र सहकार्यका बिच अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

















