इटहरी । इटहरीमा टेम्पो चालकले सिटी सफारी चालकमाथि खुकुरी प्रहार गर्दा सफारी चालकको बायाँ हात काटिएको छ ।
शनिबार साँझ टेम्पो चालकले सफारी चालकमाथि खुकुरी प्रहार गर्दा सफारी चालकको बायाँ हात काटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी ५ बस्ने राम भुजेलले सोही ठाउँका भुने चौधरीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘साथमै खुकुरी बोकेर हिँडेका कारण सामान्य भनाभनमै खुकुरी प्रहार भएकाले हात काटिएछ,’ घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘हामी अहिले जसले हात काटेको हो, उसकै घरमा छौँ र घटनाबारे थप बुझ्ने क्रममा छौँ ।’
खुकुरी प्रहार गर्दा चौधरीको हात काटिएको प्रहरीले जनाएको छ । हात काटिएपछि चौधरीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
भुजेल र चौधरी ज्वाईँ जेठान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । घटनास्थलमा पुगेको प्रहरीले भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


















