रामधुनी । तिथिको हिसाबमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी जमरा राख्नुपूर्वसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।
कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्छन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ। आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्छन्।
एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औँसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ। पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्।
आजकल युवा पिँढीमा यो श्राद्ध जस्तो कर्ममा विश्वास छैन, बाँचुन्जेल जिउँदा पितृको सेवा गर्नुपर्छ, उनीहरूलाई दुःख नदिइ, खुसी बनाएर राख्न सके मृत्युपछि कुनै कर्मकाण्ड जरुरी छैन भन्ने गरेको सुनिन्छ। आफन्तजनलाई जीवित हुँदा नै श्रद्धा गर्ने हो, मृत्युपछिको पिण्डको डल्लो र दान गरेका चिज कसरी पाउँछन् र भन्ने तर्क गर्छन्। हुन पनि हो, जीवित छँदा नगरिएको सेवा, श्रद्धा र प्रेम मृत्युपछिको कर्मकाण्डले पूणर् हुँदैन त्यो त केवल मन शान्ति र प्रायश्चितका लागि मात्र हो ।
अन्न र जलको महत्व
हुन त मानव जीवन पञ्च तत्वबाट सिर्जना भयो, पञ्च तत्वकै भरमा जीवित हुन सक्छ र जीवनपछि पनि पञ्च तत्वमै विलिन हुने हो। ती पञ्च तत्वमध्ये जल, पृथ्वी, आकाश, वायु र प्रकाशमध्ये जल र पृथ्वी अर्थात् जल र अन्नको धेरै प्रयोग र महत्व दिइएको पाइन्छ सोह्र श्राद्धमा। हुन त पूजा विधिमा होस् या खानपान र भोजनमा अनि शुद्धताको प्रक्रियामा पञ्च तत्व प्रयोगमा आउँछन् तैपनि दान र तर्पणले जल र पृथ्वीलाई केन्द्रमा राखेको हुनुपर्छ ।
भनिन्छ मृत्युपश्चात स्वर्गमा कणर्लाई खानामा सुन, हिरा, पैसा, मोती आदि दिइयो। स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दा तिमीले जे दियौ अहिले त्यही पायौ भनीयो तर अझै एउटा उपाय छ( अब तिमीले पृथ्वीमा गएर १६ दिन बसी वंशज पितृलाई भोजन दान गर्यौ भने यो दण्डबाट मुक्त हुन सक्छौ भन्ने सुझावअनुरूप कणर्ले १६ दिनसम्म पितृलाई सम्झिएर भोजन अर्पण गरे, तर्पण दिए। पितृलाई अर्पण गरेपछि छाक टार्न गाह्रो भएका सर्वसाधारणलाई खाना खुवाए। त्यही समयदेखि पितृलाई स्मरण गर्दै सोह्र श्राद्धको चलन सुरु भएको भन्ने मानिन्छ।
उहिले र अहिलेको चलन
पितृपक्ष, श्राद्ध भनेको आफ्ना चेलीबेटी, भान्जाभान्जी, छोरारनाति जम्मा हुने र पितृको स्मरणमा रहने अवसर हो। कतिको धेरै समयपछि परिवारजनसँग भेट भएको हुन्छ त्यसैले आपसी भलाकुसारी पनि हुन्छ। कतिपय पुराना चलन कठोर लाग्छन् तर व्यावहारिकताको हिसाबले वैज्ञानिक पनि छन्। समयअनुसार परिवर्तन हुँदै जानु स्वाभाविकै छ तर मानिआएको संस्कार र परम्पराका पछाडि केही रहस्य अवश्य हुन्छ शारीरिक, मानसिक, सामाजिक र भावनात्मक हिसाबले परम्पराको जगेर्ना गर्दै उचित संस्कार कायम राख्नु मानवीय स्वभाव र श्रद्धा हो।

















