रामधुनी । शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने फिल्म ‘गोर्खा :बिनिथ द ब्रेभरी’को धरानमा प्रिमियर शो सम्पन्न भएको छ ।
बहादुर गोर्खालिहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको सत्य घटानमा आधारित कथामा तयार परिएको फिल्म हेर्न धरानका मेयर हर्क साम्पाङ समेत हलमा उपश्थित भए । उनले आफुपनी लाहुरेको छोरा नाति भएको कारण यो फिल्म हेर्न हलसम्म आएको बताए । धरानमा भर्खरै संचालनमा आएको फ्रेन्ड्स सिनेमा हलमा गरिएको प्रिमियर शोमा धराने सिनेप्रेमीहरुको उपस्थिति रहेको थियो ।
७२ मिनेट लामो फिल्म हेरेपछि उपस्थित दर्शकले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुंग, गौमाया गुरुंग र स्टुअर्ट वाल्कर धरान आएका थिए । प्रिमियर शोमा फिल्मका निर्देशक प्रदिप शाहीको समेत उपस्थित रहेको थियो । उनले शुक्रबारदेखि प्रदर्शन हुने यो ‘गोर्खा :बिनिथ द ब्रेभरी’ फिल्म सबैले हेर्न आग्रह गरेका छन् । यो फिल्ममा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाईते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए ।
घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यसै सत्य घटनाको पेरिफेरीमा फिल्म प्रस्तुुत गरिएको छ।
यो फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतले अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तराष्ट्रिय अवार्ड पाइसकेका छन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा रहेका छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो ।


















