झुम्का। रामधुनी नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८०का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजानिक गरेको छ । “पर्यटन र पुर्वाधार,समृद्ध रामधुनीको आधार”सहित १२ औ नगरसभाबाट नगरपालिकाले ७१ करोड १४ लाख ८२ हजार बजेट सार्वजानिक गरेको हो ।
नगरप्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिर्घकालिन सोचका साथ रामधुनी नगर विकासकालागि ५ पिलर नीति अनुसार बजेट विनियोजन गरेका हुन् । पहिलो पिलर आर्थिक क्षेत्र विकासमा ६ करोड ८१ लख ५२ हजार विनियोजन भएको छ । जस अन्तर्गत कृषि पुर्वाधार र व्यवसायलाई आधुनिकीकरण तथा यान्त्रीकरण सहित उत्पादकत्व वृद्धि तथा आयश्रोतको मूख्य आधार बनाउन आगामि आर्थिक वर्षमा कृषि क्षेत्रमा १ करोड ९५ लाख २० हजार विनियोजन गरेको बजेट आय व्ययमा उल्लेख रहेको छ ।
नगर विकासको दोश्रो पिलर अन्तर्गत सामाजिक विकास क्षेत्रमा २७ करोड १८ लाख ८९ हजार रकम विनियोजन भएको छ । सामाजिक विकास क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तरकालागि नगरले प्राथमिकतामा राखेको छ । तेश्रो पिलरको रुपमा पूर्वाधार विकास तर्फ २५ करोड १० लाख ९ हजार विनियोजन भएको छ ।
पूर्वाधार विकास तर्फ वडा स्तरीय तथा नगर स्तरीय सडक, यातायात, पुल, भवन निर्माण तथा मर्मत योजनाकालागि बजेट विनियोजन नगरले गरेको छ । चौथो पिलर बन वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा १ करोड ४४ लाख ८० हजार बजेट विनियोजन गरेको छ भने पाँचौ पिलरको रुपमा सुशासन तथा संस्थागत विकास क्षेत्रमा १८ करोड ६१ लख ४३ हजार विनियोजन भएको उल्लेख रहेको छ ।

















