इटहरी । नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुलाई हौसला प्रदान गर्नका लागि ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशिको स्थापना गरेको छ । युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पुरस्कार राशि र अक्षयकोषको स्थापना गरेको हो ।
शनिवार इटहरीमा एक कार्यक्रमकाबिच प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी र संस्थाको तर्फबाट अध्यक्ष शिव घिमिरेका नाममा छोरा सुदिप घिमिरेले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले अब प्रत्येक वर्ष दुई जना पत्रकारलाई सो अक्षयकोषमार्फत राष्ट्रिय स्तरमा एक लाख एक हजार राशिको ‘गोविन्द खेम कुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ र एक जना सुनसरीका पत्रकारलाई ५१ हजार एक सय राशिको ‘गोविन्द खेम कुमारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार’ प्रदान गर्ने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रेस युनियनले प्रदान गर्ने पुरस्कारमद्ये यो पुरस्कार देशकै सबैभन्दा ठुलो राशिको पुरस्कार हो ।
सम्झौता पत्र अनुसार अर्गनाईजेसनले प्रत्येक वर्ष अर्गनाइजेसनको औद्योगिक व्यापारिक प्रतिष्ठानबाट राष्ट्रिय स्तरका पत्रकारलाइ वार्षिक एक लाख एक हजार नगद पुरस्कार प्रदान गर्ने र अक्षयकोषका लागि ५ लाख जम्मा गरी त्यसबाट प्राप्त ५१ हजार एक सय रुपैयाँको पुरस्कार सुनसरीका एक कृयाशिल पत्रकारलाई प्रदान गरिने छ ।
अर्गनाइजेसनका तर्फबाट निर्देशक सुदिप घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चारकर्मीसँग सहकार्य गरेको बताए । पत्रकारका हक हितका लागि निरन्तर काम गर्दै आएको लोकतान्त्रिक संस्था युनियनले गरेको यो काम प्रशंसा योग्य रहेको नेपाल प्रेस युनियन सुनसरीका पूर्व सभापति एवं पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले बताए । उनले युनियनले पत्रकार महासङ्घले गर्नुपर्ने कामहरू गर्दै आएको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले संस्थाले पैसालाई उपयोगी ठाउँमा लगानी गरेको बताउँदै युनियनका युवा नेतृत्वले त्यसलाई उपयोगी गराउनुपर्नेमा जोड दिएका छ्न। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईँले पनि युनियन सुनसरीले सञ्चारकर्मीका लागि उल्लेख्य काम गरेको बताए ।
प्रसाईँले आफ्ना स्व। बुबा आमाका नाममा युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा प्रदान गरेका छन् । केही दिन अधि प्राप्त जग्गामा युनियन सुनसरीले भवन निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ ।

















