विराटनगर । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने भन्दै विराटनगर महानगरपालिका ६ का काँग्रेस कार्यकर्ताहरूले जिल्ला पार्टी कार्यालयमा घेराउ गरेका छन् ।
शुक्रवार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला कार्यकर्ताले वडा तहसम्मै कार्यकर्ताको भावना विपरीत गठबन्धन बनाउन खोजिएको भन्दै नाराबाजी गरेका वडा सचिव प्रकाश मण्डल’भोला’ले बताए ।
गठबन्धन गर्ने की नगर्ने भन्ने निर्णयमा पुग्न नसकेकै कारण नेपाली काँग्रेस मोरङले पटक–पटक गठबन्धन दलको बैठक सार्दै र टार्दै आएको थियो । भित्र गठबन्धन दलको बैठक चलिरहेको बेला कार्यकर्ताहरूले पार्टी सभापति डिगबहादुर लिम्बूको कार्यकक्ष घेराउ गर्दै गठबन्धन चाहिँदैन भन्दै नाराबाजी गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
कार्यकर्ताहरूको नाराबाजी र विरोधले काँग्रेस नेताहरू दबाबमा परेका छन् । जबरजस्त कार्यकर्ताको भावना विपरीत गठबन्धन बनाउने निर्णय गरेमा पर्सिदेखि कार्यकर्ताले अनसनको तयारी समेत गरेका छन्
‘हामी कार्यकर्ताको भावना विपरीत निर्णय गर्न खोजिँदै छ । काङ्ग्रेसबाट वडा अध्यक्ष पदका दाबेदार रहेका हरिश्चन्द्र सहनी’अक्षय’ले भने, जबरजस्त निर्णय गर्न खोजिए पर्सिबाट अनसन बस्छौँ ।’

















