कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका छन्। बुधबार राप्रपा कपिलवस्तुले वाणगंगास्थित बुद्धरंगशालामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।
निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई विजयी बनाएर देश बन्छ भन्दा पश्चात्तापबाहेक केही हात नपर्ने उनले बताए। कांग्रेस, एमाले र माओवादीले पटक-पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनले बताए।
अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौतीसमेत दिएका छन्। उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए।

















