सुन्दरहरैंचा। मोरङको सुन्दरहरैंचा ५ मा प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रवारबाट सुरु भएको छ ।’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले गरे । प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले तेक्वान्दोले अनुशासन सिकाउने बताए ।
खेलकुदबाट नै खेलाडीलाई बाच्न सक्ने आधार राज्यले बनाउनुपर्ने बताउँदै उनले यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् । आफू पनि कराँतेको खेलाडी भएको स्मरण गर्दै तामाङले खेलबाट प्राप्त गरेको शिक्षा र अवसर जीवनभरि काम लाग्ने बताए ।
वडा नं ५ का वडा अध्यक्ष राम प्रसाद रिजाल, ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, खेलकुद समूहका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रदेश १ का विभिन्न ९ जिल्लाबाट खेलाडीले सहभागिता जनाएका आयोजक समितिका सचिव आयुशदीप रिजालले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा खेलकुदलाई चिनाउनका लागि राज्य पनि लागी पर्नुपर्ने र तीनपैनी डोजाङ ले खेलकुदका कार्यक्रम गरिरहेको वक्ताहरूले बताएका छन् । कार्यक्रमको सभापतित्व कृष्ण श्रेष्ठले गरेका थिए । प्रतियोगिता भोलिसम्म चल्ने आयोजकले बताएको छ ।


















