काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा चितवनका जिल्ला न्यायाधीश विनोदकुमार गौतमविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा खारेज हुने आदेश गरेको छ ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै गौतम लगायत १ सय ६५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले आफू जिल्ला न्यायाधीश भएकाले आफूविरुद्ध मुद्दा दायर गर्न नसक्ने भन्दै गौतमले अख्तियारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । न्यायाधीश डा. मनोज कुमार शर्माको इजलासले एकैतर्फी सुनुवाइको आधारमा निवेदन खारेज गरिदिएको थियो ।
खारेजीविरुद्ध गौतमले सर्वोच्च अदालतमा नै पुनरावलोकनको माग राखी निवेदन दिएका थिए । सर्वोच्च अदालतले उनको हकमा भएको फैसला पुनरावलोकन हुनुपर्ने भनी आदेश गरेको थियो ।
बिहीबार आदेशपछि ब्युँतिएको त्यही मुद्दामा सर्वोच्च अदालतले गौतमको पक्षमा ‘रिट जारी हुने’ भनी आदेश गरेको हो । गौतमले आफूमाथि न्यायपरिषद बाहेक अरु निकायले कारवाही गर्न नसक्ने भएकाले अख्तियारले मुद्दा चलाउने भनी गरेको निर्णय खारेज गर्नुपर्ने, आफूमाथिको निलम्बन खारेज हुनुपर्ने र पदमा बहाल गराउन आदेश जारी हुनुपर्ने माग गरेका थिए ।

















