काठमाण्डौ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा बिहिबार देखि छलफल सुरु हुने भएको छ ।
गत आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई बिहिबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको थियो ।
बुधबार बसेको लोसपाको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विपक्षमा रहेका छन् । एमसीसी सम्झौता संसदबाट पारित गर्न कांग्रेस र लोसपा तयार भएपछि सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई पनि यतिवेला दबाब बढेको छ ।

















