खोटाङ । बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भएको पाएपछि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।
बुधबार नेपाल– भारत सहयोग लेखिएको स १ च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी नबोकेर अन्य यात्रु ओसार्न प्रयोग गरिएको अवस्थामा खोटाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार रुपैयाँमा भाडामा चलाउँदै आएको भारतीय भूतपूर्व सैनिक सङ्घको नाममा रहेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाउँघरमा मट्टिमाला, पुलिक लगायतका पुराना सामग्री खोज्दै हिँड्ने व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्स प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक सङ्घलाई सन् २०१५ मा एम्बुलेन्स प्रदान गरेको थियो ।

















