अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गरे ।
मन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारलाई आग्रह गर्दै अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्नसमेत अपिल गरे ।
समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनतासहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।

















