रामधुनी । अमेरिकाले सोमबारदेखि विदेशीहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ। कोरोना भाइरसको महामारी सुरु भएयता लागेको यात्रा प्रतिबन्ध अमेरिकाले २० महिनापछि फुकुवा गर्न लागेको हो।
कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशीहरुलाई अमेरिका प्रवेश खुला गरिने भएको छ। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध वर्तमान राष्ट्रपति बाइडेन सत्तामा आएको ८ महिनापछि हट्न लागेको हो।
नयाँ नियमअनुसार बेलायत तथा युरोपियन युनियनसहितका ३० भन्दा बढी देशका नागरिकहरु जसले खोपको पूर्ण मात्रा लगाएका छन् उनीहरुले अमेरिका प्रवेश गर्न पाउने छन्। खोपको पूर्ण मात्रा लगाए पनि परीक्षण तथा कन्ट्याक ट्रेसिङमा भने रहनु पर्नेछ।
संक्रमण रोक्नका लागि सन् २०२० को सुरुमा अमेरिकाले चीनबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो। त्यसपछि सो प्रतिबन्ध अरु देशमा पनि विस्तार गरिएको हो। सो नियमले अमेरिकीबाहेकको अमेरिका यात्रामा अधिकांश रुपमा प्रतिबन्ध लगाएको थियो।

















