धरान । सुनसरीको धरान ५ तल्लो देउराली स्थित सुन्दर बस्तीमा एक पुरुषको शव हिल ट्याङ्क भित्र भेटिएको छ । बुधबार साँझ स्थानिय ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर भित्र रहेको हिल ट्याङ्क भित्र फेला परेको हो ।
लिम्बुलाई हत्या गरी शव लुकाउने उद्देश्यका साथ ५ सय लिटरको हिल ट्याङ्क भित्र राखेर हत्यारा फरार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको घाटी रेटिएको, हात र शरीरका विभिन्न भागमा धारिलो बस्तुले प्रहार भएको देखिन्छ ।
घटना अनुसन्धानको लागि अहिले सङ्घीय प्रहरी इकाई कार्यालय धरान, १ नं. प्रदेश प्रहरीको (रिट) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार हत्या गरी शव हिल ट्याङ्कमा लुकाएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।
‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सीक टोलीले घटनास्थलको अनुसन्धान गरी शव पोस्टमार्टमको लागि पठाइएको छ’ उनले भने ‘घटनास्थलमा ट्रयाकर डग ‘पिकु’ समेत प्रयोग गरेका छौ ।’
मृतक इजरायलबाट फर्केपछि धरान ५ तल्लो देउराली स्थित सुन्दर बस्तीमा घर बनाएर तरकारी खेती गर्दै आएका थिए । मृतकको पत्नी भने हाल इजरायलमा नै रहेको स्थानिय सम कुमारी लिम्बुले जानकारी दिईन् ।
लिम्बु एक्लै घरमा बस्दै आएका थिए । परिवारका अन्य सदस्यहरू धरानको भोटे पुलमा बस्दै आएको उनले बताईन् । परिवारसँग सम्पर्क नभएपछि आफै आएर हेर्दा रगतको टाटाहरू देखेको र प्रहरीलाई खबर गरेको उनले बताईन्।
खबर पाउना साथ पुगेको प्रहरीले शव खोजी गर्ने क्रममा शव हिल ट्याङ्क भित्र फेला पारेको थियो ।

















