इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।
प्रधानमन्त्रीले आफूले विश्वासको मत लिन नसक्ने भनी सिफारिश गरे पश्चात राष्ट्रपतिले छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरेपनि त्यसमा जालझेल भएको देउवाले बताएका छन् ।
नेपालको संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि भएको देउवाले जिकिर गरेका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता पनि उनले गरेका छन् ।


















