इटहरी । विपक्षी पाँच दल राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।
शनिबार बानेश्वरमा बसेको ५ दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने जानकारी दिए ।
त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएका छन् । नेताहरुका अनुसार सके आइतबार नभए सोमवार सर्वोच्च अदालत जाने तयारी भएको छ ।
एसअघि यी ५ दलका नेताले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई प्रतिगमन–२ को संज्ञा दिएका छन् । प्रधानमन्त्री केपी ओलीले यसअघि गत पुस ५ गते पनि संसद विघटन गरेका थिए तर, सर्वोच्चले पुनःस्थापना गरिदिएको थियो ।

















