इटहरी । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् ।
उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।
प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

















