दोस्रो लहरको कोरोना सङ्क्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाप बढेको छ । जसका कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ ।
पिसिआर पोजेटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन । यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ । फिभर क्लिनिकमा चिकित्सकको जाँच, एक्स–रे आदि हुन्छ । त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ ।
अस्पतालमा बेड नपाएमा आफै अस्पताल खोज्दै भतारिनु हुँदैन । त्यहाँ रहेको ट्रली, कुर्सी, चौर, बरन्डा जहाँ भए पनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ । अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ । कहिलेकाहीँ केही घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ।
आइसियुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अस्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसियु खोजेर पठाउँछ । यही बिचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजी गर्न सकिन्छ ।
यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुईँमा सुतेर भए पनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवन लीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ ।
आफूले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसँग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ । गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भए पनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजर अन्दाज गर्नुहुँदैन ।
अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठुलो र महत्त्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफूलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ । चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ । तसर्थ तपाईँलाई कम महत्त्व दिनुको अर्थ तपाइको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ । आफूलाई समस्या परेमा स्पष्ट रूपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ । शालीन ढङ्गले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।
सबैभन्दा ठुलो कुरा त मनोबल नै हो । म अस्पतालमा छु, छिटो ढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तीव्र इच्छा शक्तिले तपाइलाई बचाउने छ । कतिपय बिरामी धेरै आत्तिएर पेनिक अट्याक हुन्छ । यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ ।
एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यही एक सर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पु¥याउँछ । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भए पनि आकस्मिक घटना घट्न सक्दछ । तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन । कहिल्यै पनि आत्मबलभन्दा रोग ठुलो हुँदैन ।
तपाइलाई साह्रो गाह्रो परेमा के गर्ने ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।
सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

















