एक आमाले एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । स्वास्थ्य मन्त्री र क्लिनिकका संचालकले नौ जना शिशु जन्मिएको बताएका छन् ।
यो समाचार अफ्रिकी मुलुक मालीको हो र कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवतः यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।
जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएका छन् । पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् ।
मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् । जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ ।
तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन् । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए ।
गिनिस बुक अफ वल्र्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।

















