रामधुनी । घरको काम सकेर ताल छेउको फलैँचामा थकाई मार्न पल्टिएका ७० वर्षीय रकमसिंह थुलुङ राईलाई यो ठाउँ यस्तो होला भन्ने लागेको थिएन । ‘३५ सालतिर सुख्खा डाँडो थियो । बिचमा जब्दी (सिमसार) पनि थियो, डाँडामा फुटबल खेल्थे, दिउसो गोठाला हरूको जम्मा हुन्थ्यो । उनले भने, अहिले यसरी मान्छे आउँछन् । मैले त यस्तो हुन्छ भन्ने सोचेको पनि थिइन ।’
सोलुखुम्बु राष्ट्रिय निकुञ्जले निकुञ्ज निमार्ण हुने भएपछि घरको मुआब्जा अनुसारको जग्गा त्यहाँ दिएपछि उनी विसं २०३२ सालमा यस क्षेत्रमा आए । ‘एकान्त ठाउँमा एक्लो परिबार बस्दा डर त लाग्यो नि ! दिउसो केटाकेटीहरूसँग गोठालामा रमाइलो गरिन्थ्यो । रकमे, रकमे भन्थे, पछि त त्यो डाँडाको नाम नै रकम डाँडा नि भयो ।’ गर्मीको चिसो हावामा ‘हा..इ’ गर्दै उठेर उनले थपे ।
१५ बिघा क्षेत्रफलमा फैलिएको सुनसरीको रामधुनी ७ मा रहेको रास ताल पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । रामधुनीको मात्रै नभएर मुलुकको सय पर्यटकीय गन्तव्यमा परेपछि यो ठाउँमा विकाश गतिले पनि फड्को मारेको छ । साथै आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । साथै छिमेकी राष्ट्र भारत लगाए बाह्य मुलुकका पर्यटक अनि भिडियो सुटिङ, अध्ययन अवलोकनको भ्रमण लगाएतक कार्यले पनि यस ठाउँको प्रवर्धन भइरहेको स्थानीयले बताएका छन् ।
‘एकदमै राम्रो छ । तालहरू पनि छ । बोटिङ गर्न पनि मिल्छ मलाई त कस्तो रमाइलो लाग्यो, विराटनगरबाट विद्यालयको वनभोजमा आएकी दिप्सा कार्कीले भनिन् ।’ यो ठाउँ एकदम उत्कृष्ट लाग्यो प्रायः हामी यही ठाउँमा वनभोजमा आउँछौँ शिक्षक संद्रव न्यौपानेले भने, केही व्यवस्थापनको पक्ष कमजोर भएको चैँ मैले देखेको छु ।’ सो क्षेत्रमा दैनिक वनभोज र अवलोकनका लागि धेरै मानिसहरूको आवतजावत समेत बाक्लै हुन थालेको छ ।
‘यो ठाउँको विकाश होस आफूहरू त बुढाबुढी भइयो रकमसिंह फेरि थप्छन्, यो ठाउँको विकाशमा स्थानीय राजेश लिम्बु र शशि राईले धेरै गरेका छन् ।’ इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानबाट यो ताल सरकारको संरक्षण गरेको ताल हो । बि स२०७२ बाट यो ताललाई सरकारले संरक्षण गरेको छ । इमानसिंहलाई राष्ट्रले सम्मान गरेको र त्यही प्रतिष्ठानको नाममा यो तालको नाम रास बनेको हो ।
रास ताल संरक्षण समितिका अध्यक्ष समेत रहेका राजेश लिम्बु आफूले गाँस बास नभनीकन तालको निमार्ण गरेको बताउँछन् । ‘जब्दी थियो भविष्यमा पर्यटनको क्षेत्रमा केही होला भन्ने सोचमा तालको निमार्ण गरेको हो । उनले भने, कतिपय त यो ताल बनाउन नहुने पक्षमै रहेका थिए । रातोदिन मैले एक्स्काभेटर ल्याएर ताल बनाएँ, कतिपयले त एक्स्काभेटर कहिले आयो र खन्यो पत्तै भएन ।’ अहिले तिनै विरोध गर्नेहरू पनि यस्तो अवस्था हेर्दा अचम्मै परेको उनको भनाई छ । ‘शशि जी अनि हामी हरिमान लिम्बु, धनकुमार लिम्बु, वासुदेव जी खटेर ९ दिनमा त पानी जम्मा भइसकेको थियो, उनले थपे, शशी जी परिकल्पनाकार हुनुहुन्छ ।
यसको विकासका लागि अस्ट्रेलियाले ४५ करोडमा १० वर्षका लागि मागेको थियो । तर, यहाँका विकाश विरोधीहरूले नदिएको उनले गुनासो गरे । त्यही भएर पनि यहाँको विकाश जुन गतिमा हुनुपर्ने हो त्यस अनुसार हुन नसकेको उनको भनाई छ । ‘यो जग्गा सामुदायिक बनको हो, यिनीहरूले सामुदायिक बन मासिन्छ भनेर दिएनन्, यहाँको विकाश नहोस् भन्ने चाहे । उनले भने, नभएदेखि यहाँको विकाश कहाँ पुग्थ्यो ।
सरकारले यो वर्ष यसको पर्यटन प्रवर्धन गर्नका लागि ४ करोड ३८ लाख बजेटको विनियोजन गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि सरकारले ७२ सालमा ८ लाख, दोस्रो वर्ष १० लाख, पछि प्रदेश सरकारले क्रमशः गरेर १ करोड ५ लाखको बजेट विनियोजन भएको छ । जुन बजेटले हाल ताललाई केही व्यवस्थित गरेर वरिपरि रेलिङ लगाउने, बत्ती जडान, फलैँचा निमार्ण, खानेपानीको धारा जडान तार जाली लगायतको काम गरेको अध्यक्ष लिम्बुले जानकारी दिए ।
सय पर्यटन स्थानको सूचिमा समेटेपछि सरकारले विनियोजन गरेको ४ करोड ३८ लाख बजेटले तालको बिचमा पुल सहितको पार्क, घेरा बारा, इमानसिंह चेम्जोङको प्रतिमा, भ्यूटावर लगायतका संरचना बनाएर आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रूपमा विकास गरिने लिम्बुले जानकारी दिए । ‘आफूहरूले व्यक्तिगत रूपमा पनि खर्च त कत्ति भयो । उनले भने, एक जनप्रतिनिधि भएको नाताले पनि म चाहिँ तालको विकास नै गर्न लागेको छु ।’ लिम्बु वडा नं ७ का खुल्ला तर्फका वडा सदस्य पनि हुन् ।
इमानसिंह चेम्जोङ किरात लिपी प्रवर्द्धक पनि हुन् तालकै परिसरमा विभिन्न जातजातिका आस्थाका संरचना पनि रहेका छन् । यस क्षेत्रलाई व्यवस्थित तरिकाले संरचनाहरू बनाउन सके साँच्चै नै पर्यटकको केन्द्रका रूपमा विकाश हुने र आर्थिक विकाशमा पनि टेवा पुग्ने जानकारहरूले बताएका छन् ।
तालमा सयर गरेको र पिकनिकमा आएबापत उठेको रकम अहिले बन समितिले उठाउँदै आएको छ । आर्थिक उपार्जनको केन्द्र बन्दै गएको तालमा माछा पालनसमेत गर्न थालिएको छ । जसबाट थप आम्दानी समेत हुने समितिका पदाधिकारीले बताएका छन् ।

















