रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वार्ड नम्बर ६ मा हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रिको अवशरमा भगवान् शिवको पूजाआजा ध्वनी जगाएर मनाइएको छ ।
बिहिबार बक्लौरी बजार व्यवस्थापन समितीको अगुवाईमा स्थानियहरुले भगवान शिभको आरधना सहित ध्वनी जगाएर मनाएको बजार व्यवस्थापन समितिका अध्यक्ष फनिन्द्र तामाङ्गले जानकारी दिए ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।