झापा । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तर, हाल विभाजित बनेको सत्तारुढ नेकपाको दुई समूहले आज सुखानीमा अलगअलग श्रद्धाञ्जलीसभा राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले बिहान तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले दिउँसो १२ बजेपछि सभा राखेका हुन् । झापा विद्रोहका शहिदको सम्झनामा वर्षेनी सुखानीमा श्रद्धाञ्जलीसभा हुँदै आएको छ ।
हरेक वर्ष फागुन २१ गते सुखानी शहादतस्थलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । बिहानको श्रद्धाञ्जलीसभा र शहिद पार्कको कार्यक्रममा सहभागी नभई दाहाल–माधव समूहले बेग्लै कार्यक्रमको आयोजना गरेको हो ।
तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिने गरेका छन् ।
झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए ।