काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । हिजो भएको सहमतिअनुसार शुक्रवार(आज) राष्ट्रिय सभा गृहमा भएको हस्ताक्षर कार्यक्रममा संयुक्त हस्ताक्षर भएको हो ।
सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूको सहभागिता रहेको छ ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।
सहमति पालना गर्न प्रतिबद्धः विप्लव
नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए । हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गरेका छन् ।
नेपाल सान्तिपूर्ण देशः प्रधानमन्त्री
कार्यक्रममा धानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए । नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको प्रधानमन्त्रीको दावी छ ।