इटहरी । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।